- by Manav Sewa
- November 28, 2024
नेपालको इतिहासमै पहिलोपटक आयोजित ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञमा विश्वकै कान्छी भागवत बाचिकाको रूपमा आफ्नो परिचय स्थापित गर्न सफल अनुराधा पाण्डेयले भाग लिएकी छिन्। गुल्मी जिल्लामा जन्मिएकी अनुराधा हाल वृन्दावनमा रहँदै भागवत कथा अध्ययन र प्रवचनमा समर्पित छिन्। महायज्ञको पवित्र मञ्चमा अनुराधाले आफ्नो सुमधुर स्वरमा भागवत प्रवचन प्रस्तुत गर्दा उपस्थित भक्तजनहरू आनन्दमग्न मुद्रामा श्रवण गरिरहेका थिए।
उनले प्रवचनकै क्रममा नेपालजस्तो धार्मिकस्थलमा कथा प्रवचन गर्न पाउँदा गर्व महसुस भएको र यस्तो वातावरण तयार गरिदिने आयोजक मानव सेवा फाउण्डेशनका संकल्पकर्ता बालयोगेश्वर विजय श्रीकृष्ण मूर्तिजी महाराजलाई विशेष धन्यवाद ज्ञापन गरिन्।
अनुराधाले भक्तजनहरूलाई आध्यात्मिक मार्गप्रति प्रेरित गर्दै महायज्ञको धार्मिक वातावरणलाई थप उचाइमा पुर्याइन्। पशुपति कोटिहोमजस्तो ऐतिहासिक कार्यक्रमले नेपाली धार्मिक परम्परा र संस्कृतिलाई अन्तर्राष्ट्रिय मञ्चमा पहिचान गराउने विश्वास व्यक्त गर्दै, उनले आफ्ना आशीर्वचन मार्फत सम्पूर्ण भक्तजनलाई धर्म र सत्यपथको मार्गमा अघि बढ्न आग्रह गरिन्।
“पशुपति कोटिहोम महायज्ञजस्तो महान् धार्मिक कार्यले विश्वभर नेपाली संस्कृति र आध्यात्मिकताको परचम फहराउने छ।” – अनुराधा पाण्डेय
Leave a Reply