पाटनस्थित ऐतिहासिक तथा धार्मिक दृष्टिकोणले महत्वपूर्ण रहेको कृष्ण मन्दिरको परिसरमा २०८१ साल पुष २१ गते आइतवार मनाव सेवा फाउण्डेशनको टोलीले बृहत् सरसफाइ कार्यक्रम सम्पन्न गर्यो। उक्त कार्यक्रममा ७० जनाभन्दा बढी सहभागीहरू जुटेर मन्दिर परिसरलाई सफा गर्नका साथै फोहर व्यवस्थापन गरे।
नेपाल एक हिन्दु सनातनी परम्पराको धरोहर भएको देश हो। यहाँका मठमन्दिरहरू केवल धार्मिक आस्थाका केन्द्र मात्र नभई पर्यटकीय दृष्टिकोणले पनि अति महत्त्वपूर्ण छन्। यी सम्पदाहरूलाई संरक्षण गर्ने दायित्व हाम्रै हो। यदि सबैले आफ्नो क्षेत्रमा रहेको फोहर आफैं व्यवस्थापन गर्ने र सफा राख्ने जिम्मेवारी वहन गरेमा हाम्रो देशका सम्पदास्थलहरू झन् सुन्दर, स्वच्छ र आकर्षक बन्नेछन्।
यस कार्यक्रमले समुदायमा सरसफाइप्रति सचेतना जगाउन मात्र नभई व्यक्तिगत जिम्मेवारीको महत्त्वलाई पनि उजागर गर्यो। मनाव सेवा फाउण्डेशनले भविष्यमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिँदै धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ। हामी सबैले मिलेर आफ्ना पवित्र स्थलहरूको संरक्षण गर्ने हो भने हाम्रो देशको गरिमा झन् उजागर हुनेछ।

Leave a Reply