श्री मानव सेवा फाउण्डेशन
नेपालको धार्मिक, सामाजिक र सांस्कृतिक विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको श्री मानव सेवा फाउन्डेसन, नेपाल एक गैरनाफामूलक सामाजिक संस्था हो । वि.सं. २०७८ सालमा स्थापित यस संस्थाले विविध सेवा, सहयोग र परोपकारी कार्यमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउन निरन्तर प्रयास गरिरहेको छ। देशका विभिन्न जिल्लाहरुमा गएर समाजसेवा गर्ने यस संस्थाको मुख्य कार्यालय काठमाडौं महानगरपालिका वडा नं. १४, कलंकीमा अवस्थित छ । समाजको दुःखमा मल्हम लगाउने सपना बोकेर समाजसेवामै आफ्नो जीवन समर्पित गर्नुभएका सनातन धर्मका धर्मसम्राट, यज्ञशिरोमणी वालयोगेश्वर विजयश्री कृष्णमूर्ति जी महाराज यस संस्थाका संस्थापक हुनुहुन्छ । सहाराबिहीन भएकै कारण कसैले बेसाहारा हुनु नपरोस्, कोही भोकै नबसोस्, कोही पनि शिक्षाको उज्यालोबाट वञ्चित नहोस्, अभिभावक बिहीन भएकै कारण कसैको बाल्यकाल नखोसियोस् र भविष्य निमार्णमा बाधा नपरोस् भन्ने महाराजश्रीको संकल्पले नै मानव सेवा फाउन्डेसन, नेपाल संस्था लगायत दर्जनौं सामाजिक कार्यमा आवद्ध संस्थाहरु स्थापना हुन पुगे।

श्री मानव सेवा फाउण्डेसन नेपालका उद्देश्यहरु:
- असहाय, बेसहारा, अशक्त र आर्थिक रूपमा कमजोर व्यक्तिहरूलाई खाद्य, वस्त्र, स्वास्थ्य र आश्रयको व्यवस्था गर्दै उनीहरूको जीवनमा नयाँ आशा र सहाराको अनुभूति गराउनु ।
- धार्मिक सहिष्णुता, शान्ति र भाइचारा प्रवर्द्धन गर्न पहल गर्नु।
- समाजमा व्याप्त छुवाछूत, जातीय भेदभाव र असमानताका विरुद्ध जनचेतना फैलाउनु।
- विपद् व्यवस्थापन तथा प्राकृतिक प्रकोपबाट प्रभावित समुदायलाई तत्काल राहत प्रदान गर्नु।
- स्वास्थ्य, शिक्षा र रोजगारका अवसर सिर्जना गरी समुदायको जीवनस्तर उकास्नमा पहल गर्नु।
- संस्कृति, परम्परा र धार्मिक सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा सक्रिय सहभागिता जनाउनु।
श्री मानव सेवा फाउण्डेसन नेपालका गतिविधिहरू:
- धार्मिक कार्यक्रमहरूः कोटिहोम ज्ञान महायज्ञ र विभिन्न अनुष्ठान आयोजन गरी विश्वकल्याण, सुख, शान्ति एवं धार्मिक चेतना जागृत गर्दै संकलित सम्पूर्ण दान रकमबाट अनाथालय, वृद्धाश्रम लगायत समाजसेवाका अन्य कार्यहरुमा उपयोग गरिरहेको ।
- सामाजिक सहयोग कार्यक्रमहरूः अशक्त नागरिक, अविभावक विहीन बालाबालिका, बेसहारा आमाबुवा र आर्थिक रूपमा कमजोर व्यक्तिहरूलाई सहयोग गरिरहेको ।
- शिक्षा र स्वास्थ्य अभियानहरूः विद्यालय निर्माण, छात्रवृत्ति प्रदान र निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेको ।
- सांस्कृतिक संरक्षणः परम्परागत पर्वहरू मनाउन प्रोत्साहन गर्दै संस्कृति र मौलिकताको रक्षा गरिरहेको ।
- दुःखमा परेका व्यक्तिहरूलाई राहतः बाढी, पहिरो, आगलागी जस्ता प्राकृतिक प्रकोपमा परेकालाई आर्थिक, भौतिक र भावनात्मक सहयोग प्रदान गरिरहेको ।
- पर्यावरण स्वच्छता महाअभियानः विभिन्न सार्वजनिक स्थल, मठमन्दिर, नदिनाला आदिको स्वच्छता कायम राख्न सयौं स्वयंसेवहरुद्वारा वृहत सरसफाई महाअभियान आयोजना गरिरहेको ।
श्री मानव सेवा फाउण्डेसन नेपालका विशेषताहरू:
- समाजमा शान्ति, एकता र भाइचारा स्थापित गर्दै समाजलाई समृद्ध बनाउनमा समर्पित यस सँस्थाले सोही लक्ष्य प्राप्तीमा आधारित गतिविधिहरु गर्दै आएको।
- राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सनातन धर्म, संस्कृति र परम्परालाई प्रवर्द्धन गर्ने लक्ष्यसहित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको।
- मनकारी, समाजसेवी र सहयोगी दाताहरुको सहयोग र सहकार्यबाट संस्था अघि बढ्दै गरेको।
- आफ्नो सत्प्रयास र निष्ठाका साथ समाजको हरेक तह र तप्कामा सकारात्मक प्रभाव पार्न सफल हुँदै आएको ।
- सामाजिक न्याय, समानता र परोपकारलाई जीवन्त राख्न एउटा उदाहरणीय भूमिका निर्वाह गरिरहेको।
- स–साना प्रयासहरूले असहायहरूको आँखामा आशा भर्ने, प्यासीहरुको तिर्खा मेट्ने, भोकाहरूको पेट भर्ने र साहारा विहीनहरुको साहारा बन्ने कार्यमा मानव सेवा फाउन्डेसन, नेपाल सदैव समर्पित छ।




